काठमाडौं । नेपालमा वैदेशिक लगानी आह्वान गर्दै तेस्रो लगानी सम्मेलन सोमवार समापन भएको छ ।
आइतवारदेखि काठमाडौंको सोल्टी होटलमा आयोजित लगानी सम्मेलनको अन्तिम आज पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितीमा समापन भएको हो ।
सो अवसरमा एमाले अध्यक्ष ओलीले नेपाल तीव्र आर्थिक विकासको यात्रामा प्रवेश गरेको भन्दै विदेशी लगानीकर्तालाई खुला हृदयले स्वागत गर्ने बताएका छन ।
विभिन्न देशका कुल ८ सय विदेशीसहित २५ सय जनाको सहभागिता रहेको थियो ।
लगानी बोर्डका सीईओ सुशील भट्टले सम्मेलनका दौरान विभिन्न साइडलाइन वार्ता तथा बीटूबी मिटिङहरू भएको बताएका थिए ।
यस अवसरमा विभिन्न स्वदेशी कम्पनीहरूले विदेशी लगानी भित्र्याउन सम्झौता तथा समझदारीहरू गरेका छन ।
उद्योग विभागले चारवटा परियोजनाको लागि नौ अर्ब १३ करोड बराबरको लगानी स्वीकृत गरेको छ ।
काठमाडौंमा व्यवसायिक भवन निर्माणका लागि ३ अर्ब लगानी स्वीकृत गरिएको विभागले बताएका छन ।
त्यसैगरी, ललितपुर जिल्लामा होटल तथा रेस्टुरेन्ट निर्माणका लागि ६ करोड २५ लाख बराबर लगानी स्वीकृत भएको छ ।
भक्तपुरमा लगानी कम्पनी स्थापनाका लागि ६ अर्ब लगानी स्वीकृत भएको उद्योग विभागले जनाएको छ ।
त्यस्तै संयुक्त अधिराज्यको एकेलस इनर्जी लिमिटेडको ८५ प्रतिशत र कैलालीको मोहन्याल गाउँपालिकाको १५ प्रतिशत लगानीमा दुई सय किलोवाट क्षमताको जलविद्युत आयोजना निर्माणका लागि सात करोड ६६ लाख स्वीकृत गरिएको छ ।
स्वचालित मार्ग (अटोमेटिक रुट) मार्फत विदेशी लगानी स्वीकृत हुने प्रणालीको उद्घाटन गरेको छ ।
उद्योग विभागले स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्नको लागि विद्युतीय प्रणाली तयार गरी सकेको छ ।
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७ को पहिलो संशोधन गरी वैशाख ७ गते प्रकाशित भएको राजपत्र अनुसार शतप्रतिशत सेयर स्वामित्व वा संयुक्त लगानीमा नयाँ कम्पनी संस्थापना गर्न वा विदेशी लगानीमा स्थापना भई सञ्चालनमा रहेको कम्पनीमा विदेशी लगानीकर्ताले पुँजी वृद्धिका लागि लगानी गर्न स्वचालित मार्गमार्फत् निवेदन दिने तथा स्वीकृत गर्ने व्यवस्था कायम रहेको छ ।
सूचना प्रविधिमा आधारित उद्योगहरूको लागि स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्दा लगानीको न्यूनतम सीमा लागू गरिएको छैन ।
Categorized in राष्ट्रिय