७ जेठ २०८१, सोमबार
Header

इलाम–२ मा २० र बझाङबाट १२ जनाको उम्मेदवारी दर्ता, आज उजुरी दिन सकिने


प्रकाशित: आइतवार, २५ चैत्र २०८०, ०९ः२० बजे
- महानगरखवर

काठमाडौं । आगामी बैशाख १५ गते इलाम र बझाङमा हुन गईरहेको उपनिर्वाचनको लागि उम्मेदवारी दर्ता शनिवार सम्पन्न भएको छ ।


निर्वाचन आयोगका अनसार प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीसहित १२ राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र गरी जम्मा २० जनाले उम्मेदवारी दर्ता गराएका छन । 


कांग्रेसका डम्बर खड्का, एमालेका सुहाङ नेम्वाङ, रास्वपाका मिलन लिम्बू, नेकपा एसका जितबहादुर राईलगायतले उम्मेदवारी दर्ता गराएका छन । 


त्यसैगरी, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनका मनिबहादुर लिम्बूले पनि मनोनयन दर्ता गराएका छन ।

 
राप्रपाबाट लक्ष्मी गुरुङ, राप्रपा नेपालबाट गणेशबहादुर चौहान, राष्ट्रिय मुक्ति आन्दोलन दलबाट जयवन्तविक्रम शाह, नेपाली जनता दलबाट रेशमबहादुर सुनार, नेसनल रिपब्लिकन पार्टीबाट धनराज रानामगरको उम्मेदवारी दर्ता भएको छ ।


स्वतन्त्र उम्मेदवारको रुपमा पहिचानवादी नेता डकेन्द्रसिंह लिम्बू, डाकप्रसाद गौतम, अर्जुनकुमार शाही, केशवकुमार चापागाईं, दीपेश बोहरा, मनोज निरौला, योगेन्द्र गुरुङ र राज बस्यालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको हो ।


त्यसैगरी,  बझाङ क्षेत्र नम्बर १ (१) मा १२ राजनीतिक दलबाट १२ जनाको मनोनयन दर्ता भएको आयोगले जनाएको छ ।


बझाङमा कांग्रेसका तर्फबाट अभिषेकबहादुर सिंह, एमालेका तर्फबाट दमन भण्डारी,नेकपा माओवादीका जनक बुढाले पनि उम्मेदवारी दिएका छन ।


त्यसैगरी, नेकपा एसका तर्फबाट दिलबहादुर सिंह तथा राप्रपाबाट किशोर खड्का, राष्ट्रिय मातृभूमि पार्टीबाट विनोद थापा, जनता दलका अशोक सुनार, नेमकिपाबाट खगेन्द्र शाही र नेसनल रिपब्लिकबाट कमल घर्तीमगरले उम्मेदवारी दिएको छ । 


जनता समाजवादीबाट रामबहादुर जाग्री, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दिपकबहादुर खड्का र जनमत पार्टीका सुशीलादेवी विष्टले उम्मेदवारी दिएको हो । 


आयोगले आज उम्मेदवार विरुद्ध कुनै उजुरी वा गुनासो भए सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा कार्यालय समयभित्र उजुरी दिन सकिने जनाएको छ ।


आयोगका अनुसार २६ गते मनोनययन पत्र र उजुरीमाथि जाँचबुझ हुने छ । सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ ।


२७ गते उम्मेदवारी फिर्ता लिने र सोही दिन उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरी चुनाव चिह्न वितरण गर्ने कार्यतालिका छ ।


वैशाख १५ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने छ ।


गत ४ मंसिर २०७९ मा भएको आम निर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित नेकपा एमाले नेता सुवासचन्द्र नेम्वाङको २५ भदौको राति निधन भएको थियो ।


बझाङ बाट निर्वाचित नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंहको गत ५ असारमा गाडी दुर्घटनामा निधन भएपछि रिक्त भएका स्थानमा उपनिर्वाचन हुन लागेको हो ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD